मिद्यानीहरूमाथि प्रतिशोध

1. परमप्रभुले मोशालाई भन्नुभयो,

2. “मिद्यानीहरूले इस्राएलीहरू माथि गरेको अन्यायमा तिनीहरूलाई दण्ड देऊ। त्यस पछि, मोशा, तिमी तिम्रा पिता-पुर्खाहरूसित मिल्न जानेछौ।”

3. यसर्थ मोशाले मानिसहरूलाई यसो भने, “मिद्यानीहरूसित बद्ला लिन युद्ध गर्नको निम्ति तिमीहरूले आफ्नो मानिसहरूबाट सेनाहरू तयार पार।

4. इस्राएलीहरूको प्रत्येक कुलबाट एक हजार मानिसहरू निकाल्नु पर्छ।

5. इस्राएलीहरूको बाह्र कुलहरूबाट बाह्र हजार सेनाहरू हुनेछन्।”

6. मोशाले बाह्र हजार इस्राएलीहरू युद्धमा पठाए। तिनले पूजाहारी एलाजारको छोरो पीनहासलाई पनि तिनीहरूसित पठाए। पीनहासले आफूसित पवित्र चीजहरू युद्ध-ध्वनी तथा तुरहीहरू लिएर गए।

7. परमप्रभुको आज्ञा बमोजिम इस्राएली सेनाहरू मिद्यानी मानिसहरू विरूद्ध लडे। तिनीहरूले त्यस अञ्चलमा भएका प्रत्येक मिद्यानी पुरूषलाई मारे।

8. तिनीहरूले एवी, रेकेम, सूर, हूर र रेर्वा गरी पाँच जना मिद्यानी राजाहरू मारिदिएर बोरको छोरो बिलामलाई पनि तिनीहरूले मारे।

9. इस्राएली मानिसहरूले मिद्यानी स्त्रीहरूलाई र बाल-बच्चाहरूलाई कैद गरे अनि तिनीहरूको सबै सम्पत्ति, सबै गाई-वस्तु तथा भेडाहरू पनि लगे।

10. तिनीहरूले मिद्यानीहरूको गाँउ-वस्ती तथा शहरहरू पनि जलाई दिए।

11. इस्राएलीहरूले तिनीहरूको मानिस तथा पशुहरू मोशा, पूजाहारी एलाजार अनि

युद्धबाट फर्कनुहोस्

12. इस्राएली अरू मानिसहरूकहाँ ल्याए। युद्धमा तिनीहरूले जे जति लिए सबै इस्राएलीहरूको छाउनीमा ल्याए। इस्राएली मानिसहरूको छाउनी मोआबको यर्दन बेंसीमा थियो। त्यो यरीहोदेखि पारी यर्दन नदीको पूर्वपट्टि थियो।

13. तब मोशा पूजाहारी एलाजार तथा इस्राएली प्रमुख व्यक्तिहरू छाउनीबाट बाहिर ती सेनाहरूलाई भेट्न गए।

14. मोशा इस्राएली एक हजार सेनाका सेनापति र एक सय सेनाका सेनापतिहरूसित जो युद्धबाट फर्केका थिए अत्यन्तै क्रोधित भएका थिए।

15. मोशाले तिनीहरूलाई भने, “यी स्त्रीहरूलाई तिमीहरूले किन जिउँदो राख्यौ?

16. छुट्टानाम भएका स्त्रीहरूले बिलामको उपदेश अनुसार इस्राएलीका मानिसहरूलाई यी स्त्रीहरूले परमप्रभु देखि टाढा गराउन प्रभावित गराएका थिए। यही कारणले मानिसहरूमा विपत्ति पनि आइलागेको थियो।

17. यसकारण ती सबै बालकहरूलाई मार र ती पुरूषहरूसित सहवास भएका सबै स्त्रीहरूलाई मार।

18. तर शारीरिक सम्बन्ध नगरेका कन्ये केटीहरूलाई तिमीहरूको निम्ति राख।

19. तिमीहरू सात दिन सम्म छाउनी बाहिर रहनु पर्छ। तिमीहरू मध्ये प्रत्येक व्यक्ति अथवा तिमीहरूका कैदीहरू जसले कुनै व्यक्तिलाई मारेको छ अथवा मरेको लाश छोएकोछ उसले आफैंलाई तेस्रो दिन र सातौं दिनमा शुद्ध पार्नुपर्छ।

20. तिमीहरूले प्रत्येक लुगा, छालाले बनिएको प्रत्येक चीज, बाख्राको भुत्लाले बनिएको प्रत्येक चीज तथा काठले बनिएको प्रत्येक चीज सबै शुद्ध पार्नुपर्छ।”

21. त्यसपछि पूजाहारी एलाजारले युद्धमा गएका सबै सेनाहरूलाई भने, “परमप्रभुले मोशालाई यस्तो आज्ञा गर्नु भएको छ,

22. सुन, चाँदी, काँसो, फलाम, जस्ता र सीसा चीजहरू

23. आगोलाई प्रतिरोध गर्ने प्रत्येक कुरालाई आगो प्रयोग गरेर शुद्ध पार्नु पर्छ अनि यसलाई शुद्धीकरणको पानीले शुद्ध गर्नुपर्छ, तब यो शुद्ध हुनेछ। तिमीहरूले प्रत्येक कुरालाई पानीसित अवश्यै शुद्ध गर्नु पर्छ त्यो आगोले प्रतिरोध गर्ने सकिदैन।

24. सातौं दिनमा आफ्नो लुगा-फाटाहरू धुनु पर्छ अनि तिमीहरू शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू छाउनीभित्र पस्नू।”

लूट को विभाजन

25. त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,

26. “पूजाहारी एलाजार सारा समुदायका प्रधानहरू र तिमीले सबै कैदीहरू, पशुहरू र सेनाहरूले युद्धबाट ल्याएका सबै चीजहरू गन।

27. तब युद्धमा गएका सेनाहरू र अरू बाँकी इस्राएली मानिसहरू माझ भाग लगाऊ।

28. मानिस, गाई-वस्तु, भेडा र गधा यी सब सेनाहरूले युद्धबाट ल्याएका प्रत्येक पाँच सय चीजहरूबाट परमप्रभुको निम्ति एउटा कर हिसाबमा राख।

29. तिनीहरूको अशंको आधा अंश यी चीजहरू लिएर परमप्रभुको निम्ति भेटी स्वरूप पूजाहारी एलाजारलाई देऊ।

30. प्रत्येक पचास चीजहरूबाट (जो मानिसहरू गाइहरू, गधाहरू, भेडा र अन्य पशुहरूलाई समिलित गर्छ) आधा भाग इस्राएलीहरूलाई दिएकाबाट एउटा लिएर लेवीहरूलाई देऊ जसले परमप्रभुको पवित्र पालको हेर चाह गर्छ।”

31. परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार मोशा र पूजाहारी एलाजारले इस्राएली सेनाहरूले युद्धबाट ल्याएका समानहरू वितरण गरे।

32. इस्राएली सेनाहरूले युद्धबाट यी पशु र मानिसहरू ल्याएका थिएः भेडा 6,75,000,

33. गाई-गोरू 72,000,

34. गधा 61,000 अनि

35. स्त्रीहरू 32,000। यी स्त्रीहरू हुन् जसले पुरूषसित शारीरिक सम्बन्ध राखेका थिएनन्।

36. ती सेनाहरू जो युद्धमा गएका थिए तिनीहरूले 3,37,500 भेडाहरू पाए।

37. तिनीहरूले आफ्नो भागबाट 675 वटा भेडाहरू परमप्रभुलाई चढाए।

38. तिनीहरूले पाएका 36,000 गाई-गोरूहरूबाट परमप्रभुलाई 72 वटा कर हिसाबमा चढाए।

39. तिनीहरूले 30,500 गधाहरू पाए र यसबाट परमप्रभुलाई 61 वटा कर हिसाबमा चढाए।

40. तिनीहरूले 16,000 स्त्रीहरू पाए र यसबाट परमप्रभुलाई 31 जना कर हिसाबमा चढाए।

41. परमप्रभुले मोशालाई भन्नु भए झैं मोशाले यी सब उपहारहरू परमप्रभुको निम्ति पूजाहारी एलाजारलाई दिए।

42. युद्धमा गएका सेनाहरूले ल्याएको सम्पत्तिबाट मोशाले बाँडेको इस्राएली मानिसहरूको आधा भाग यस्तो थियोः

43. भेडा 3,36,500,

44. गाई-गोरू 36,000,

45. गधा 30,500,

46. स्त्रीहरू 16,000।

47. यसरी इस्राएली मानिसहरूको भागमा परेका पशु र मानिसहरूबाट प्रत्येक पचासमा एउटा गरी लिएर मोशाले परमप्रभुको पवित्र पालको रक्षा गर्ने लेवीहरूलाई दिए। परमप्रभुको आज्ञा बमोजिम मोशाले यसो गरे।

48. त्यसपछि एक हजार इस्राएली सेनाका कप्तानहरू र एक सय सेनाका कप्तानहरू मोशाकहाँ आए।

49. तिनीहरूले मोशालाई भने, “हामी तपाईंका सेवकहरूले हाम्रा अधीनमा रहेका सबै सेनाहरू गन्यौ तिनीहरू मध्ये हामीले कसैलाई पनि गुमाएनौं।

50. हामीले सुनका चीजहरूः पैरा, बाला, छाप, औंठी, कुण्डल र बाजूहरू त्यो हामीले हाम्रो परमप्रभुलाई उपहार जस्तै परमप्रभूको अघि हाम्रो आफ्नै प्रायश्चितको निम्ति चढायौ।”

51. मोशा र एलाजारले तिनीहरूबाट सुनको गहनाहरू थापे।

52. ती सबै एक हजार सेनाहरूका र एक सय सेनाहरूका कप्तानहरूले चढाएको सुनको ओजन 16,750 शेकेलथियो।”

53. सेनाहरू मध्ये प्रत्येकले आफ्नो निम्ति केही चीजहरू लिएका थिए।

54. यसर्थ मोशा र पूजाहारी एलाजारले परमप्रभु अघि इस्राएली मानिसहरूको स्मृति चिन्ह स्वरूप ती सुनको गहनाहरू एक हजार र एक सय सेनाहरूका कप्तानहरूबाट लिएर भेट हुने पालमा राखे।

Bibles

Books

Chapters